नेपालमा भेटियाे कोभिडको नयाँ म्युटेसन
काठमाडौं । नेपालमा काेभिड-१९ संक्रमण फैलाएकाे डेल्टा भेरियन्टममा नयाँ म्युटेसन पुष्टि भएको छ ।
४८ वटा नमुनाहरू परीक्षण गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएकाे पनि मन्त्रालयले जनाएकाे छ ।
४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन ‘के ४१७ एन’ म्युटेसन भेटिएको मन्त्रालयलले साेमबार निकालेकाे विज्ञप्तिमा उल्लेख छ । नयाँ म्युटेसनलाई एवाई-१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० बढी राष्ट्रमा पुष्टि भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमुनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएको थियाे । ती नमुनाको जिनोमिक पहिचान गर्दा ४७ वटा नमुनामा डेल्टा भेरियन्ट, एउटामा अल्फा भेरियन्ट तथा ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन ‘के४१७ एन’ म्यूटेसन भेटिएको हाे ।
याेसँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रुपमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) भेरियन्ट र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट(बी.१.६१७.१) पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । विभिन्न अध्ययनहरु अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने पाइएकाले सचेत रहन र जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र गराउन मन्त्रालयले अनुराेध गरेकाे छ ।
‘यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपील गर्दछौं’- विज्ञप्तिमा लेखिएकाे छ ।