बाढीपहिराे र डुबान पीडितकाे व्यवस्थापन र राहतका काम प्रभावकारी बनाउनु- प्रम ओली
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिराे र डुबान पीडितकाे व्यवस्थापन र राहतका काम प्रभावकारी बनाउन निर्देशन दिनुभएकाे छ ।
सिन्धुपाल्चोकमा प्राकृतिक विपद्को व्यवस्थापन तथा राहतकाे कामलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन उहाँले सम्बद्ध निकायलाई निर्देशन दिनुभएकाे हाे । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको प्रतिनिधि मण्डलसँग शुक्रबार भएकाे भेटमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिमा स्थानीय आवश्यकता अनुसार राहत उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।
सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउनुभयाे । प्राकृतिक विपद्लाई राजनीतिक हिसाबले नभइ मानवीय हिसावले हेर्नुपर्ने उहाँले बताउनुभयाे ।
सिन्धुपाल्चाेकमा बाढीले पुर्याएकाे क्षतिमा सरकार गम्भीर भएकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘सरकार याे विषयमा गम्भीर छ, पुल बगाएको ठाउँमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेकाे छ ।’ पीडित परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयाे । बाढीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्ने लगायत काम गर्न पनि प्रधानमन्त्री ओलीले सुझाव दिनुभयाे ।
एमाले वाग्मती प्रदेशले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन गर्न, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुर्ननिर्माणको कामका थाल्न आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे हाे । एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटी अध्यक्ष आनन्द पोखरेलको नेतृत्वमा ज्ञापनपत्र बुझाइएकाे हाे ।