आज दिनभर देशका धेरै ठाउँमा पानी पर्ने
काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा अहिले पानी परिरहेकाे छ ।
देशका अधिकांश ठाउँमा आज दिनभर पानी पर्ने जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी वायु सक्रिय रहेकाले देशभर पानी पर्ने महाशाखाले माैसमी बुलेटिनमा उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार अहिले प्रदेश-१, प्रदेश-२, वाग्मती, लुम्बिनीर गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली छ । बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँ तथा बाँकी प्रदेशका १-२ ठाउँमा पनि अहिले पानी परिरहेकाे छ ।
महाशाखाका अनुसार आज दिउँसाे देशका अधिकांश ठाउँमा बदली रही प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज दिउँसाे प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहित ठूलाे पानी पर्ने सम्भावना छ । प्रदेश-२ र वाग्मती प्रदेशका केही ठाउँमा धेरै ठूलाे पानी पर्ने सम्भावना छ ।
आज राति पनि प्रदेश-१, प्रदेश-२ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । प्रदेश-२ र वाग्मती प्रदेशका केही ठाउँमा धेरै ठूलाे पानी पर्ने सम्भावना छ ले । ती ठाउँमा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका १७ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका सडक विभागले जनाएकाे छ । लगातार पानी परेसँगै ठाउँ ठाउँमा पहिराे गएकाे छ । ठूला तथा साना नदीहरुका पानीकाे बहाव बढेकाे छ । तटीक्ष क्षेत्र डुबानमा परेका छन् ।