वर्षामा पहिरो जाने र सडक अवरुद्ध हुने शृंखला नारायणगढ–मुग्लिन सडकमा चलिरहन्छ
चितवन । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृंखला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहनुभएका उहाँले भन्नुभयो, ‘लेदो माटो र ढुंगा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।’
पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस ठाउँमा खेती गरिँदै आएको छ । सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उहाँको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउनुहुन्छ । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उहाँले भन्नुभयो, ‘अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न सुरु गरेको हो ।’ असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो ? निकै जोखिम बढेको भन्दै उहाँले भन्नुभयो, ‘सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।’
जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उहाँले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौंडाबाट राजधानी छिर्न सुझाव दिनुभएको छ ।
सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको संख्या तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उहाँले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिनुभयो । भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो । काम गर्न सकेसम्म रोकिएको छैन ।
डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका छन् । केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो ।
तीन वर्षअघि काम सम्पन्न भएयता अघिल्ला दुई वर्षमा खासै समस्या भएको थिएन । यस वर्ष भने मौसम सक्रिय भएसँगै पहिरोले दुःख दिन थालेको हो ।
यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्यांक छ ।
–रासस