मध्यपुरथिमिको बजेट पारित
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि तीन अर्ब ३८ करोड ४९ लाख ३५ हजार रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ ।
विगत वर्षमा विवाद र बहिष्कारले बजेट पारित गर्न हम्मे पर्ने नगरपालिकाले यस वर्ष पाँचौँ नगरसभामा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले सभामा प्रस्तुत गर्नुभएको बजेट व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरेर उदाहरणीय नमूना प्रस्तुत गरेको हो ।
नगरसभाले चालू तथा पूँजीगततर्फ एक अर्ब ९२ करोड ३४ लाख ४८ हजार रुपैयाँ, कमेरोटार जग्गा एकीकरण आयोजनातर्फ ८० करोड २१ लाख ११ हजार रुपैयाँ र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालतर्फ ६५ करोड ९३ लाख ७६ हजार रुपैयाँ बजेट पारित गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्यतर्फ नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन ०७७ लाई संशोधन गरी सञ्चालक समिति १५ जनाको बनाएर पूर्णता दिइने, अस्पतालका लागि वडा नं २ र ३ मा स्वास्थ्य चौकी आगामी वर्ष सञ्चालनमा ल्याउने, एमआरआई, क्याथ ल्याब, सिटिस्क्यान र ब्लड बैंक सञ्चालनका लागि १९ करोड रुपैयाँको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता राम थापाले जानकारी दिनुभयो ।
त्यस्तै उक्त अस्पतालको पूर्वाधार विकासका लागि एक करोड रुपैयाँ, कोभिड व्यवस्थापनका लागि एक करोड रुपैयाँ, जातीगालको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि एक लाखको बजेट विनियोजन गरिएको छ ।
नगरसभाले कर्मचारी समायोजन विधेयक ०७८ पारित गर्नाका साथै उपभोक्ता समितिमार्फत सञ्चालन हुने नगरस्तरीय योजनामा उपभोक्ता समिति गठन गर्दा उपप्रमुख तथा वडाध्यक्षको अनिवार्य उपस्थिति र वडास्तरीय उपभोक्ता समिति गठन गर्दा नगरप्रमुख तथा उपप्रमुख उपस्थिति हुनुपर्ने नियम बनाएको छ ।
नगरसभाले नगरपालिकामा कार्यरत कर्मचारीको समायोजनका लागि कर्मचारी समायोजन विधेयक–२०७८ स्वीकृत गरेको छ । उक्त विधेयकले स्थानीय स्वायत्त ऐन २०५५ र सोको नियमावली २०५६ बमोजिम स्थायी नियुक्ति भएका कर्मचारीको समायोजनका लागि बाटो खुला गरेको छ ।
सभाले नगरपालिकामा कार्यरत नगर सामाजिक परिचालिकालाई निरन्तरता दिँदै निजको खाइपाइ आएको पारिश्रमिकमा रु दुई हजार बढाउने निर्णय गरेको छ । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल सञ्चालन तथा व्यवस्थापन ऐन २०७७ संशोधन गरी १३ सदस्यीयबाट दुई थप गरी १५ जनाको सञ्चालक समिति रहने गरी पारित गर्ने निर्णय गरिएको छ ।
सभाले नगरपालिकामा हाल कार्यरत २० नगर स्वयंसेवकलाई व्यवस्थापन गर्ने निर्णय गर्दै हाल कार्यरत नगर प्रहरीलाई निरन्तरता दिँदै बाँकी दरबन्दीमा नियमानुसार सेवा करारमा पदपूर्ति गर्ने निर्णय गरेको छ ।
–रासस