३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०३:३८


काठमाडाैं । आज असार २९ अर्थात नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाईंदैछ ।

आदिकविकाे जन्मठाउँ तनहुँको चुँदीरम्घासहित देश तथा विदेशका विभिन्न ठाउँमा विभिन्न साहित्यीक कार्यक्रम गरे भानु जयन्ती मनाउन लागिएकाे हाे । काेभिड संक्रमण जाेखिमका कारण याे वर्षकेा भानुजयन्तीमा भर्चुअल माध्यमबाट कार्यक्रमहरु हुनेछन् ।

आज बिहान काठमाडाैंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ । काेभिड जोखिमका कारण भौतिक दूरी तथा स्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम हुनेछ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन तथा राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । उहाँकाे याेगदानलाई कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घाेषणा गरेकाे छ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनता मात्र नभएर नेपाली साहित्यलाई ठूलाे याेगदान पुर्‍याउनु भएकाे छ । उहाँले सरल नेपाली भाषामा लेख्नुभएकाे रामायण अहिले पनि नेपालीको घर-घरमा लयसाथ पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएकाे नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएकाे थियाे । भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको विश्वास गरिन्छ ।

उहाँका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति निक्कै चर्चित छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !