२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क सुनसान

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०६:१५


काठमाडौं । दुई महिना लामो निषेधाज्ञापछि मुलुकको राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि नयाँ बसपार्क भने सुनसान छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि वैशाख १६ गतेदेखि सरकारले गरेको निषेधाज्ञासँगै बन्द रहेको नयाँ बसपार्कमा अहिलेसम्म चहलपहल हुनसकेको छैन । देशैभरका भाडाका बस आउने र जाने नेपालको एक मात्र राष्ट्रिय बसपार्क गोँगबुस्थित नयाँ बसपार्क उपत्यका बाहिरका सवारी साधन उपत्यकाभित्र प्रवेश गर्न नपाउँदा सुनसान बनेको हो ।

नयाँ बसपार्कमा देशभरका ६५ भन्दा बढी जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन दैनिक आवतजावत गर्दै आए पनि कोरोना सङ्क्रमणका कारण उक्त कार्य रोकिँदै आएको छ । कोरोना सङ्क्रमणकै कारण यातायात बन्द हुँदा नयाँ बसपार्कमा मासिक दुई करोड ५० लाख रुपैयाँ नोक्सानी हुँदै आएको छ ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा ०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर निषेधाज्ञाका कारण लामो समय बन्द हुँदा नयाँ बसपार्कलाई मासिक करोडौँ नोक्सान भएको स्वीकार गर्नुहुन्छ । गत वर्ष पहिलो चरणको कोरोना संक्रमणको समयमा झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्क यस वर्ष दुई महिनाभन्दा धेरै समय बन्द भइसकेको छ । डेढ वर्षको समयमा आठ महिना पूर्णरूपमा र बाँकी समय आंशिक बन्द हुँदा नयाँ बसपार्कमा २० करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौँ रुपैयाँ खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौं महानगरपालिकालाई समेत वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ । शुरुका दिनमा जथाभावीरूपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आए पनि हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको छ ।

नेपालको एक मात्र राष्ट्रिय बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न बसपार्क बनाउने लक्ष्य राखिए पनि धेरै समय बन्द हुँदा समस्या परेको अध्यक्ष कुँवरको भनाइ छ । यस्तै कोरोनाका कारण नयाँ बसपार्क बन्द हुँदा वरपरको क्षेत्रमा समेत ठूलो नोक्सानी पुगेको छ । झण्डै एक हजार होटल तथा रेष्टुराँ रहेको सो क्षेत्रमा कोरोनाका कारण अधिकांश होटल बन्द रहेका छन् । नयाँ बसपार्कमा झण्डै ५० वटा दोहोरी साँझ सञ्चालनमा छन् ।

होटल व्यवसायी महासङ्घ नेपालका सचिव एवं नयाँ बसपार्कमा गोरखा लिगलिग होटल सञ्चालन गरेर बस्नुभएका नारायण गुरुङ लामो दूरीका सवारी साधन सञ्चालन नहुँदा होटलमा पाहुना नआउने गरेको बताउनुहुन्छ । ‘लामो समय बन्दाबन्दी हुँदा बैंकको किस्ता र होटल भाडा तिर्न समस्या भएको छ, सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पछ्याउँदै होटल व्यवसाय सञ्चालन गर्न दिनुपर्छ’, उहाँ भन्नुहुन्छ ।

सरकारले असार २२ गते मंगलबारदेखि उपत्यकामा सबै सवारी साधन सञ्चालन गर्न पाउने गरी खुला गरे पनि सडकमा भने यथेष्ट मात्रामा सवारी साधन अझै चल्न सकेको छैन ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !