राष्ट्रपतिद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयको बुधरबार बिहान उद्घाटन गर्नुभएको छ ।
नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले वि.सं. १८२४ मा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको सिन्धुलीगढी युद्ध संग्रहालयको नेपाली सेनाले निर्माण गरेको हाे ।
नेपाली सेनाले करिब ७ करोड रुपैँयाको लगानीमो युद्ध संग्रहालय भवन र डेकोरेसनको काम सकेको हो । सिन्धुलीगढी युद्ध संग्रहालय भवन निर्माणको काम न्यु ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फास्टक्चर प्रा.लि धुलिखेलले गरेको हो ।
युद्धकालीन अवस्थाका पत्र, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको सिनारियो, सिन्धुलीगढी युद्धका डकुमेन्ट्री, चरणवद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजले प्रयोग गरेका तोप, नेपाली योद्धा, व्रिटिस योद्धा, नेपाली योद्धाका आर्ट तस्वीर, मिथिला आर्ट, ब्रिटेनको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज, इतिहासका पुस्तक संग्रहालयमा राखिएको छ । संग्रहालयमा पृथ्वीनारायण शाहको पूर्ण कँदको शालिक र पृथ्वी नारायण शाहका दिव्योपदेशलाई समेत व्यवस्थित गरिएको छ ।
नेपाली सेनाको वर्दबहादुर गणले निर्माण व्यवस्थापनको जिम्मा लिएको युद्ध संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । संग्रहालय सञ्चालन र व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको छ ।
सिन्धुलीगढी युद्ध संग्रहालयमा सुगौली सन्धि अघिको ग्रेटर नेपालको नक्सा तथा पछिल्लो चरणमा नेपाल सरकारले जारी गरेको नेपालको चुच्चे नक्सा समेत राखिएको छ । २०७३ कात्तिक २४ गते तत्कलीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले युद्ध संग्रालयको शिलान्यास गर्नुभएको थियो ।
यस्तै कमलामाई नगरपालिकाले संग्रहालय अगाडि सिन्धुलीगढी युद्धका योद्धा वंशु गुरुङ, वंशराज पाण्डे, श्री हर्ष पन्त र वीरभद्र उपाध्यायको संयुक्त शालिक निर्माण गरेको छ । नगरपालिकाको ४९ लाखको लागतमा उक्त शालिक निर्माण गरेको हो ।
वि.सं. १८२४ असोजमा काठमामाडौं कब्जा गर्न हिँडेको इस्टइण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई वशु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले सिन्धुली गढीमा हराएर फिर्ता पठाएको थियो ।