नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो ।
उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको हो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०/६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।
उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ । उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।
पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभयो । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
–रासस