कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडाैं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे छ ।
बुधबार बिहान सम्पन्न मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार डा. शेखर काेइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित हुनुभएकाे हाे । देउवाले कोइरालालाई ८ सय ७८ मतले पराजित गर्नुभयाे ।
१४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि भएकाे दाेस्राे चरणकाे चुनावबाट देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुन सफल हुनुभयाे । यसअघि १३औं महाधिवेशनमा पनि देउवा कांग्रेस सभापतिमा निर्वाचित हुनुभएकाे थियाे । देउवाले २ हजार ७ सय ३३ मत ल्याउनुभयाे भने उहाँका निकटतम प्रतिद्धन्दी काेइरालाले १ हजार ८ सय ५५ मत ल्याउनुभयाे । १३औं महाधिवेशनमा जस्तै १४औं महाधिवेशनमा पनि सभापति हुनका लागि देउवाले दाेस्राे चरणकाे चुनाव सामना गर्नुपर्याे ।
साेमबार राति सम्पन्न पहिलो चरणको चुनावमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणमा चुनाव भएको थियाे । दाेस्राे चरणकाे चुनावमा देउवा र काेइरालाबीच प्रतिष्पर्धा भएकाे हाे ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा ४ हजार ६ सय २३ मत खसेकाे छ । ३५ बदर भएकाे छ । पहिलो चरणको चुनावमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो भने ७६ मत बदर भएको थियो । दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा कांग्रेस सभापतिमा निर्वाचित हुन २ हजार २ सय ८२ मत ल्याउनुपर्ने थियाे । तर देउवाले २ हजार ७ सय ३३ मत ल्याउनुभयाे ।
पहिलाे चरणकाे चुनावमा देउवा र काेइरालासँगै विमलेन्द्र निधि, प्रकाशमानसिंह र कल्याण गुरुङ गरी ५ जना सभापतिका लागि प्रतिष्पर्धामा हुनुहुन्थ्याे । सभापतिका ५ जना उम्मेदवारमध्ये पहिलाे चरणमा देउवाले २ हजार २ सय ५८, कोइरालाले १ हजार ७ सय २, सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २२ मत ल्याउनुभएकाे थियाे ।
यद्यपि पहिलाे चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत बढी मत कटाउन नसकेपछि सभापतिका लागि पुन: चुनाव भएकाे थियाे । पहिलाे चरणमा धेरै मत ल्याएका देउवा र काेइरालाबीच दाेस्राे चरणमा प्रतिष्पर्धा भएकाे हाे । दाेस्राे चरणमा देउवालाई निधि, सिंह र गुरुङ तीनै जना उम्मेदवारले समर्थन गर्नुभएकाे थियाे ।
पहिलाे चरणमा सभापति हुने सपना पूरा नभएपछि मंगलबार बिहानै देउवाले सभापतिका प्रत्यासी प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई भेटेर आफूलाई सघाउन आग्रह गर्नुभयाे । भेटमा दुवै नेतासँग सभापतिमा समर्थन गर्ने सहमति बन्याे । निधि र सिंहसँगै गुरुङले पनि देउवालाई सघाउने घाेषणा गर्नुभयाे । अन्तत: सिंह,निधि र गुरुङकाे सहयाेगमा देउवा दाेस्राे चरणकाे चुनावमा सभापतिमा निर्वाचित हुनुभयाे ।