सभामुख सापकोटाले राजदूत संग एमसीसी साट्दै
सुसन धमला-
काठमाडौं । एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ ।
रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुनुहुन्छ । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आउनुभएको छ ।
मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ । कांग्रेसले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसक्नुभएको छ तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।
राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसक्नुभएको छ । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराउनुभएको हो ।
तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको दवाब छ । ‘रुपकलाई सकेसम्म चीनको, नत्र अरु कुनै देशको राजदूत बनाउने सर्तमा एमसीसी टेबल गर्न दिन सभामुख अग्निप्रसाद सापकोटा सहमत हुनुभएको हो’– प्रधानमन्त्री देउवा निकट एक नेताले सनराइज खबरलाई जानकारी दिए ।
ती नेताका अनुसार एमसीसी प्रतिनिधि सभाबाट पास गरेपछि मात्र छोरालाई राजदूत बनाइदिने आश्वासन प्रधानमन्त्री देउवाले अग्निप्रसादलाई दिनुभएको छ ।
रुपकले चीनको रेनमिन विश्वविद्यालयबाट अन्तराष्ट्रिय कूटनीतिमा विद्यावारिधी गर्नुभएको छ ।
चीन जस्तो विश्वकै शक्तिशाली देशमा आलाकाँचा व्यक्तिलाई राजदूत बनाएर पठाउँदा सम्बन्ध राम्रो नहुने भनी कूटनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ ।
एमसीसी जसरी पनि पास गर्ने चक्करमा रुपकलाई राजदूत बनाउन देउवा सहमत हुनुभएको हो । माओवादीले एमसीसी पास गर्ने लक्षण देखाए पनि अन्तिम निर्णय भने लिइसकेको छैन । एमसीसी पास नभएको अवस्थामा भने रुपक राजदूत नबन्ने अवस्था आउने छ ।