१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

२८ गतेपछि राजनीतिक सुनामी आउँदै, गठवन्धन टुट्दै

प्रकाशित मिति :  २४ भाद्र २०७९, शुक्रबार ०४:२६


काठमाडौं । सत्ता गठवन्धनले अन्तिम शास फेर्न लागेको छ । भदौ २८ पछि यो गठवन्धन भत्कने भएको छ । उच्च राजनीतिक सूत्रहरुका अनुसार भदौ २८ पछि गठवन्धन विघटनको प्रक्रियामा जाने भएको छ ।

कांग्रेसलाई जति ब्ल्याकमेलिङ गरे पनि भनेजति सीट माओवादीले पाइरहेको छैन । उता, कांग्रेसभित्र पनि एक्लै चुनाव लड्न आन्तरिक दवाब बढिरहेको बेला गठवन्धन टुट्न लागेको हो । उच्च राजनीतिक स्रोत अनुसार यो गठवन्धन टुटाएर एमाले र माओवादीको गठवन्धन बनाउन चीनले रुची राख्दै आएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्काे गरी अमेरिका परस्त नीति लिन थालेपछि चीन पनि सक्रिय भएको हो । चीनले नेपालमा स्वतन्त्र परराष्ट्र नीति लिने सरकार चाहेको छ । यो गठवन्धन टुटाएर एमालेको नेतृत्वमा माओवादीलाई हुल्न सकियो भने नेपालमा स्वतन्त्र सरकार बन्न सक्छ भन्ने चिनियाँ बुझाई रहेको छ ।

यही मेसोमा विभिन्न चिनियाँ नेताहरुले नेपाल भ्रमण गरिसकेका छन् भने अमेरिकी नेताहरुको पनि नेपाल आगमन बाक्लो हुन थालेको छ । एकपछि अर्काे गरी अमेरिकी नेता तथा उच्च अधिकारीहरु काठमाडौं आइरहेका छन् । अमेरिकी उपसहायक विदेश मन्त्री एलिजाबेथ होस्र्ट जलवायु परिवर्तन सम्बन्धी कार्यक्रमको बहानामा नेपाल आए लगत्तै चिनियाँ जनकांग्रेसका प्रमुख सहितको ठूलो टोली नेपाल आउन लागेको हो । जनकंग्रेसका अध्यक्ष लि चान्सु एक्लै होइन, करिब सय जनाको विशाल टोली सहित २८ गते काठमाडौं आउँदैछन् ।

स्रोत अनुसार जनकंग्रेस अध्यक्षले राष्ट्रपति, प्रधानमन्त्री सहित सभामुख तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्दै छन् । चान्सुले प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ । जनकंग्रेसका अध्यक्ष चान्सुले खुला र औपचारिक भेटघाट गरिरहेको बेला उनको टोलीमा आएका सदस्यहरुले भने अनौपचारिक रुपमा एमाले, माओवादी र माधववादीका नेताहरुसँग भेट्नेछन् । उनीहरुको भेटको उद्देश्य टुट्न लागेको गठवन्धनलाई चाँडो टुटाउनु रहेको बुझिन्छ ।

चिनियाँ बुझाईका कारण मात्र होइन, गठवन्धन आफ्नै कारणले पनि टुट्न गइरहेको छ । प्रचण्डले मागेजति सीट नपाउने भएपछि गठवन्धन टुटाएर एमालेसँग मिल्ने प्रयास गरिरहनुभएको छ । तर, एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति देउवालाई ‘कुनै हालतमा माओवादीसँग मिल्दैनौं, एक्लै चुनाव लड्नुभए हुन्छ’ भनेर आश्वस्त पार्नुभएको बुझिन्छ । एमालेले प्रचण्डलाई हरियो झण्डा देखाएको भए केही समय अघि नै गठवन्धन टुटिसक्ने थियो ।

२८ गतेपछि माओवादी र माधव मिलेर चुनाव लड्ने योजना बनाए बेग्लै कुरा, नत्र कांग्रेससँग भने गठवन्धन टुट्ने देखिएको छ । कांग्रेससँग गठवन्धन टुट्न सक्ने बुझेर नै प्रचण्ड र माधवले आफ्ना कार्यकर्तालाई एक्लै चुनाव लड्ने परिस्थिति आउनसक्छ भन्ने गरेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !