१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  ३ आश्विन २०७९, सोमबार ०२:५८


काठमाडौं । आज असाेज ३ गते अर्थात संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउन लागिएकाे हाे ।

०७२ असाेज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकाे दिन संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले असाेज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछ ।

संविधान जारी भएको ७ वर्ष पुगेको अवसरमा सरकारले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । संविधान दिवस मूल समारोह समितिले आयाेजना गर्ने विशेष समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्ति उपस्थित हुने कार्यक्रम छ ।

दिवसका अवरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछन् । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले ०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्नुभएकाे थियाे । यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

संविधान दिवसकै अवसर पारेर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌काे सिफारिसमा ६ सय ४१ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरिदिनुभएकाे छ ।

आजै राष्ट्रपतिले विभिन्न व्यक्तिलाई विभिन्न सरकारी विभूषण प्रदान गर्दै हुनुहुन्छ । उहाँले ९९८ वटा पदक तथा विभूषण प्रदान गर्न लाग्नुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !