लागू भयाे आचारसंहिता, यी कुरा गर्न नपाइने
काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगले मंगलबार रातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आयाेगले राजनीतिक दल र उम्मेदवारका लागि ६० बुँदे निर्देशन दिएकाे छ ।
आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न नपाउने आयाेगले जनाएकाे छ र प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान मन्त्रीहरुलाई कुनै राेक लगाइने छैन ।
स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । उनीहरु सरकारी स्रोतसाधन प्रयोग नगरी आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् ।
संवैधानिक आयाेगका पदाधिकारीहरुले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैनन् । सरकारी कर्मचारीले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छृैनन् । चुनावमा खटिने कर्मचारीले पनि कुनै उम्मेदवारको पक्ष विपक्षमा प्रचार गर्न पाउने छैनन् ।
सुरक्षा निकाय र सुरक्षासम्बद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेदवारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले तटस्थता अपनाउनुपर्नेछ । गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायत काम गर्न पाउने छैनन् ।
प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ ।प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।
दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ ।
सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न पाइनेछैन । चुनावकाे प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ । दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन । मनोनयन र घरदैलो कार्यक्रममा जाँदा २५ जनाभन्दा धेरै जान पाइने छैन । गाडीको प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
रेडियो, टीभीले तोकिएको समयावधिभित्र रहेर दलहरुको प्रचार सामग्री प्रसारण गर्न पाउनेछन् । तोकिएको सीमामा रहेर पत्रपत्रिकामा पनि प्रकाशन गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चुनाव सम्बन्धी सामग्री प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा नै अनुमानित खर्च रकम र त्यसको स्रोत खुलाउनुपर्नेछ । त्यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ र खर्च गर्ने पदाधिकारी तोक्नुपर्नेछ । त्यसको सबै विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।
२५ हजारभन्दा बढी चन्दा लिएमा बैंकिङ च्यानलमात्रै प्रयोग गर्नुपर्नेछ । आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्रका साथ सम्पत्ति विवरण समेत पेस गर्नुपर्ने नियम बनाएको छ ।