१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गगन पुरीका गफहरु…

प्रकाशित मिति :  ४ कार्तिक २०७९, शुक्रबार १०:२१


काठमाडाैं । झापालाई गफाडीहरुको जिल्ला मानिन्छ । झापालीहरुको बोल्ने शैली, गफ गर्ने तरिका र लवज नेपालभरी चर्चित छ । झापालीहरु जोसँग पनि सजिलै घुलमिल हुन्छन् । बोल्नमा अति फरवार्ड हुन्छन् ।

झापामा सकारात्मक र नकारात्मक गफाडी दुवै छन् । अहिले दमकमा एकजना गफाडी अति चर्चित छन् । उनका गफका अनेक किस्सा यहाँ घरघरमा चर्चा हुन्छ । उनको नाम हो गगन पुरी । माओवादी पार्टीका नेता गगन पुरीका गफका केही नमूना यहाँ प्रस्तुत गरिएको छ ।

गफ नम्बर १

नदीको ब्युटिफिकेसनको अवधारणा आफूले ल्याएको गफ गगन पुरीले दिने गरेका छन् । गफै त हो, सानोतिनो किन गर्ने ? उनले नदीको ब्युटिफिकेशनको अवधारणा विश्वमै आफूले पहिलो पटक ल्याएको गफ दिने गरेका छन् । कतिसम्म भने, मिडियासँगको भिडियो अन्र्तवार्तामा समेत उनले यस्तो गफ दिने गरेका छन् ।

सत्य के हो भने नेपालमा नदी व्युटिफिकेसनको अवधारणा प्राचीनकालदेखि नै छ । अंग्रेजी व्युटिफिकेसन पनि गगन पुरी जन्मनु अगाडि नै चर्चामा आएको हो । काठमाडौं उपत्यकामा नदी व्युटिफिकेसनको काम थालिएको तीन दशक भन्दा धेरै भइसक्यो ।

रतुवा र मावा नदी व्युटिफिकेसनको अवधारणा पनि गगनले ल्याएका होइनन् । यो अवधारणा केपी ओलीले र बोधराज न्यौपानेले ल्याएका हुन् । उनीहरुले रतुवा नदी नियन्त्रणका लागि किनारमा खास किसिमको जंगल लगाएर सजाउने अवधारणा ल्याए, यो अवधारणा निक्कै सफल पनि मानिन्छ ।

तर, गगन भन्छन्, विश्वमै मैले पहिलो पटक व्युटिफिकेसनको अवधारणा ल्याएको हो ।

गफ नम्बर २

आफ्नो हजुरबाको ६० बिगाहा जग्गा थियो भनेर गगनले गफ लगाउने गरेका छन् । २०२२ सालतिर दमक क्षेत्रमा एक परिवारले कमाउन सक्ने जति जग्गा लिए हुन्थ्यो । त्यो युगमा ६० बिगाहा खेती गर्ने आकारको गगनका हजुरबाको परिवार संख्या थिएन ।

बुढापाकाहरुका अनुसार उनको हजुरबाले कब्जा गरेको जग्गा बढिमा २३ बिगाहा जति थियो । त्यो जग्गा पनि रतुवाले बताइरहन्थ्यो । रतुवाले बगाएको र खेति गरेको जग्गा गरी २३ बिगाहा जति उनका हनुरबाको थियो । २३ बिगाहा मध्ये आधा जग्गा खोलामा पथर््यो । पछि सबैजसो जग्गा खोलाले लग्यो ।

दमकमा गगनका हजुरबाको मात्र नभएर अरुको जग्गा पनि खोलाले लैजान्थ्यो । तैपनि गगनले हजुरबाको जग्गा ६० बिगाहा थियो भनेर किन गफ लगाएका होलान् ? यसको कारण के हो भने उनले ५० बिगाहा जति जग्गा दमकको वडा नम्बर ८ मा सरकारी जग्गा कीर्ते गरेर कब्जा गरेका थिए । पछि कीर्तेमा उनी विरुद्ध वारेन्ट जारी भयो, फरार भए, काठमाडौंमा पक्राउ परेर केही समय हिरासतमा बिताए ।

सरकारी जग्गा लुटेको ढाकछोप गर्न उनले हजुरबाको ६० बिगाहा जग्गा थियो भनेर फुर्ति लाउने गरेका हुन् ।

जे होस्, गगनको गफ दिने स्टायल स्वादिलो छ ।

गफ नम्बर ३

एकदिन गगन दमकको चियादोकान तिरको एउटा पसलमा बसिरहेका थिए । विजुलीको पोल बोकेर एउटा टक दक्षिणतिर गयो । गगनले यो पोल कता लगेको हो भनेर सोधे । कसैले भन्न सकेनन् । उनले एकजनालाई साथमा लिए, बाइकमा टक पछ्याउन थाले ।

धेरै पर पुगेपछि टक भेटियो । डाइभरलाई पोल कता लैजान लागेको भनेर सोधे । उनीहरुले दस नम्बरको कुनै ठाउँ बताए ।

त्यसपछि गगन तुफान गतिमा अगाडि बढे । पोल लगिने ठाउँमा पुगेर दुई चारजना स्थानीयलाई बोलाए । उनले विजुलीको पोल ल्याइदिएको, अब गाउँ झिलिमिली पारिदिन्छु भने । स्थानीय दंग भए ।

१० नम्बरका नेता बोधराज न्यौपाने र अम्किा खनालले राति सुने, गगनले विजुलीको पोल ल्याईदिएको छ । उनीहरु छक्क परे । आफूहरुले पनि अघिल्लो दिन पोल ल्याएको, गगनले पनि ल्याएको । गगनले अर्कै ठाउँमा ल्याएको हो कि भन्ने उनीहरुलाई लाग्यो ।

भोलिपल्ट बिहानै उनीहरु आफूहरुले ल्याएको विजुली पोल थुपारिएको ठाउँमा पुगे । स्थानीय भन्न थाले, यो पोल गगनले ल्याइदिएको हो ।

बोधराज र अम्बिकाले आफूहरुले बहुत दुःख गरेर पोल ल्याएको कथा सुनाए । स्थानीयले पत्याएनन्, किनभने पोल ल्याउँदा साथमा बोधराज र अम्बिका थिएनन्, गगन थिए ।

गगनको गफ कति प्रभावकारी भयो भने अहिले पनि त्यो ठाउँका मानिसहरु विजुलीको पोल गगनले नै ल्याइदिएको ठान्छन् ।

गफ होस् त गगन पुरीको जस्तो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !