१ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीकाे पूजा आराधना गरिँदै

प्रकाशित मिति :  ७ कार्तिक २०७९, सोमबार ०४:४०


काठमाडाैं । यमपञ्चक अर्थात तिहारकाे तेस्राे दिन आज आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको तथा बत्ती नबलेकाे घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता अनुसार आज साँझ घरको चारैतिर सफा सुग्घर गरी आँगन, दैलो, संघार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायत ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप बालेर झिलीमिली बनाइन्छ । पछिल्लाे समय रंगाेली बनाउने प्रचलन पनि बढेकाे छ ।

जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ त्यहाँ लक्ष्मीले सदा बास गर्ने धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले दीपावली गरेर धनकी देवी लक्ष्मीको पूजा गर्ने गर्छन् । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समूहसमूह बनाई घरघर गई हर्षोल्लासपूर्वक देउसी भैलो खेल्ने परम्परा छ ।भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बताइन्छ ।

यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रसेलरोटी दान स्वरुप दिने चलन छ । त्यसपछि भैलेनी समूहले साे घरमा लक्ष्मीले बास गरुन् भनेर आशिष दिन्छन् । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिए राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

तिहार उज्यालाेअर्था झिलिमिलीबत्तीको चाड पनि भएकाले विशेषगरी लक्ष्मीपूजाका दिन हरेक घरमा झिलिमिली बत्ति बालिन्छ । लक्ष्मीपूजाका अवसरमा आज गाउँ, शहर बजारमा दीपावली गरी झिलीमिली पारिने हुँदा यसलाई दिपावली पनि भनिन्छ । लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यतासाथ घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पारिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !