वैद्यखानाको अनुगमन गर्दै मन्त्री पौडेलले भन्नुभयाे : ‘तलवका लागि पैसा दिन सक्दैनौं’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गर्नुभएको छ ।
मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आउनुभएको छ । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थाल्नुभएको हो ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराउनुभयो ।
पर्याप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह समेत गर्नुभयो ।
बजारमा जति औषधी उत्पादन भए पनि वैद्यखानाको औषधी बिक्री हुने रहेछ, उनले भने, तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।
मन्त्री पौडेललाई कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।
‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं, मन्त्री पौडेलले भन्नुभयो,‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।’
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने ।
प्रधानमन्त्रीज्यूको पनि वैद्यखानाले उत्पादन बढाओस् भन्ने चासो छ, मन्त्री पौडेलले भन्नुभयो, ‘बजारमा जति उत्पादन गरे पनि बिक्ने चिज पनि हामी किन बेच्न सक्दैनौं ?
मन्त्री पौडेलले तीन दिनभित्र समस्या नभइ समाधानसाथ उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भन्नुभयो, उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’